/दिनेशको एक हातको कमाल

दिनेशको एक हातको कमाल

Reading Time: 1 minute

प्रकृति न्यौपाने/ My Life Magazine

मान्छेले गर्दा नहुने, गर्न नसकिने यस संसारमा के होला ? चाहना र लगनशीलता भए आफूले चाहेको हरेक कामहरू गर्न सकिन्छ । अवसरले कसैलाई खोज्दैन, हामी आफैले खोज्न र चिन्न सक्नु पर्छ । आफूमा भएको क्षमतालाई सदुपयोग गरेर एक हातकै भरमा ५ जनाको परिवार सजिलै पालिरहेका छन्, झापा अर्जुनधाराका दिनेश ठाकुर ।

ठुलो भएपछि दिल्ली गएर धेरै पैसा कमाउने उनको सानै देखिको सपना थियो । २०३१ सालमा भारतको समस्तिपुरमा जन्मिएका उनी ९ कक्षा पढि सके लगतै दिल्ली जाने तयारीमा जुटे ।



यता नेपालमा उनका दाइको इलेक्ट्रोनिक पसल थियो । दाइले अरू कसैको नोकरी गर्नुभन्दा नेपालमा भइरहेको व्यापार अघि बढाउनु पर्छ भने पछि उनी नेपाल आए । बुवा पनि पहिलेदेखि नेपालमै बसेर मिल चलाउने काम गर्थे । केही समय दाइको व्यापारमा साथ दिए पछि २०५१ सालबाट उनी बुवासँगै मिल चलाउने काम गर्न थाले ।

मिल चलाउने कामको केही अनुभव बटुले पछि वार्षिक २५ हजार ठेक्का तिर्ने सर्तमा कप्तानवारिमा रहेकोे नेत्र राइस मेल ठेक्कामा लिएर चलाउन थाले ।

परिवारले पुरै दुईछाक, पेटभरि खान थालेको थियो। आनन्दको निद्रा लाग्न थालेको थियो। तर उनको जीवनमा एउटा यस्तो दिन पनि आयो, २०५५ सालको त्यो एक दिन उनी कहिल्यै बिर्सन सक्दैनन् । सधैँ झैँ उनी मिल चलाइरहेका थिए, एक्कासि उनको देब्रे हात मिलको फितामा पर्योउ । उपचारार्थ उनी सिलगुडीमा भर्ना भए । केही समयको उपचार पछि उनी घर त फर्के तर हरेक काममा साथ दिने आफ्नो देब्रे हात भने सदाका लागि गुमाउन पुगे ।



विवाह गरेको भर्खर २ महिना हुँदै थियो । गरिखाने एउटा हात नै नरहे पछि अब जीवनमा के का लागि बाँच्ने ? कसरी बाच्ने ? भनेर आफैमा प्रश्न गर्न थाले । न त उनीसँग अन्य केही सिप थियो, न त जीवनभर बसेर खान पुग्ने धन सम्पत्ति नै ।

परिवारका लागि पनि आफू बोझ भएको महसुस गर्न थाले । जीवन प्रतिको नैरास्यता दिन प्रतिदिन बढ्दै गयो ।

२–३ महिना पश्चात् श्रीमतीको साथ, साथीभाइहरूको हौसला र प्रेरणाले उनले फेरि एक हातले नै भए पनि मिल चलाउने निर्णय गरे । एक हातकै भरमा हराई सकेको परिवारको खुसी फिर्ता ल्याउन उनी सफल भए । आत्मविश्वास, दृढ इच्छा शक्तिले नयाँ जीवन सुरु गरे । घरव्यवहार राम्रोसँग चल्न थाल्यो ।

ठेक्कामा लिएर चलाइरहेको मिल २०६७ सालमा मालिकले आफैँ चलाउने भने पछि उनको गरी खाने भाँडो खोसियो । आर्थिक सङ्कटको कुनै सीमा थिएन, विजोग हालत भयो । अब कहाँ जाने ? के गर्ने ? खुसीसाथ चलिरहेको १ छोरा १ छोरी सहितको परिवार चलाउन अब उनलाई हम्मे हम्मे पर्न थाल्यो ।



उज्यालोको किरण आउँदै गरेको जीवनमा एकाएक अन्धकार छायो । उनले अब कतै गएर अरुनै केही पेशा अँगाल्ने निर्णय नगरेका पनि होइनन् । तर,उनको इमान्दारिता र मेहनतले प्रभावित गाउवासीले उनलाई रोके । गाउँमै बसेर मिल चलाउन सल्लाह दिए । तर उनीसँग मिल चलाउन आवश्यक पर्ने केही पनि थिएन । छरछिमेकका सबैले सक्दो सहयोग गर्ने भनेपछि उनले सोही स्थानमा मिल चलाउने निष्कर्ष निकाले ।



छिमेकी नारद मणि अचार्यले ५० हजार रुपैयाँ नगद र जग्गा उपलब्ध गराएर उनी माथि ठुलो गुन लगाए ।

मेसिन व्यापारी, इलेक्ट्रोनिक व्यापारी लगायतले उनको इमानदारीतालाई विश्वास मानेर कमाएर तिर्ने सर्तमा मिल स्थापना गर्ने आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध गराए । केहीदिनमै उनले नर्वदा राइस मिलको नाम दिएर नयाँ मिल सुरु गरे । दिनरात काम गर्न थाले । कामप्रति समर्पित भएकैले छोटो समयमै दिन दुई गुणा रात चार गुणा प्रगति हुन थाल्यो ।



मिलकै आम्दानीले घडेरी जोडे । २ तलाको घर बनाए । छोराछोरीलाई राम्रोसँग पढाइरहेका छन् । समाजमा उनको इमान्दारिता र कामप्रतिको मोहको सबैले प्रशंसा गर्छन् । कुनै समयमा अर्काको मिलमा काम गर्ने उनको अहिले आफ्नै मिल छ । जीवनमा ईमान्दार भएर मेहनेत गर्ने हो भने जुनसुकै काममा पनि सफलता पाउन सकिन्छ भन्ने उनको ठम्याइ छ ।

हात नभएर मानिसले दुःख पाउने होइन, सपना भएन भने चाहिँ दुःख पाउँछ । सपना छ अनि सपना पूरा गर्ने जाँगर र अठोट छ भने दुःख पाइँदैन । उदाहरण हुन् दिनेश ।

हातमा डिग्री होल्डर सर्टिफिकेट, शारीरिक-मानसिक रूपमा तन्दुरुस्त भए पनि सरकारले कहिले हाम्रा लागि रोजगारीको वातावरण सिर्जना गर्ला भन्दै पर्खिनेको ठुलो जमातका लागि एक साहस बनेका छन्, दिनेश