/बाह्र सय ५० वर्षको इतिहासमा पहिलो महिला शंकराचार्य : नेपालका लागि गौरव !

बाह्र सय ५० वर्षको इतिहासमा पहिलो महिला शंकराचार्य : नेपालका लागि गौरव !

Reading Time: 1 minute

इतिहासकै पहिलो र एक मात्र महिला शंकराचार्य नेपालले प्राप्त गरेको छ ।

मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरी भारतका ४ पीठमध्ये उत्तराखण्डको पीठाधीश नियुक्त भएकी हुन् ।

शंकराचार्य छनोट समितिले केही महिनाअघि खुला सूचनामार्फत् उत्तराखण्डका लागि पीठाधीश आह्वान गरेको थियो ।

यसक्रममा उनले अन्य २ सय प्रतिस्पर्धीलाई पछि पारिन् । विश्वका २ सयजना उत्कृष्ट आध्यात्मिक गुरुहरूले मठको शंकराचार्य चयन प्रक्रियामा भाग लिएका थिए ।

स्वामी हेमानन्द गिरी १२ सय ५० वर्षको इतिहासमा शंकराचार्य पदमा पुग्ने पहिलो महिला हुन् ।

उनलाई ७ दिन अगाडि तपाई शंकराचार्यमा चयन हुनुभयो भनेर फोन गरिएको थियो । हेमानन्दले म प्रमाणपत्र लिन आउँदिन नेपालमै आएर दिनुस् भनेपछि अखिल भारतीय विद्वत् परिषदले नेपालमै आएर प्रमाणपत्र दिएको उनले बताइन् ।

आफू शंकराचार्य चुनिँदा सनातन धर्ममा नेपाली भूमिप्रति सम्मान बढेको उनले बताइन् । सानै उमेरदेखिको योग ध्यान र तपस्याले अहिलेको अवस्था आएको उनको विश्वास छ ।

‘साह्रै ठूलो संस्कार र सभ्यता हाम्रो परम्परा तथा संस्कृति फर्किँदै गएको छ, अब यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले लोकान्तरसँग भनिन् । लाखौं नाङ्गा संन्यासीको सेनापतिका रूपमा लिइने यो पद सनातन धर्मको महत्त्वपूर्ण पद हो । अध्यात्म, वाक शक्ति, नेतृत्व विकास, संरक्षणको क्षमता, अध्यात्मलाई विस्तार गर्नसक्ने क्षमतासँगै सामाजिक तथा धार्मिक गतिविधिलाई हेरेर मूल्याङ्कन गरी उच्च समितिबाट यो उपाधि दिइने उनले बताइन् ।

उनले भनिन्, ‘हिन्दू धर्मको प्रचार–प्रसारका लागि अब गतिविधि बढ्ने छ ।’ शंकराचार्य छान्ने अधिकार भारत धर्म महामण्डललाई दिइएकोमा महामण्डलको तटस्थ समूहले शंकराचार्यको पदमा हेमानन्द गिरीलाई ज्योर्तिमठको नयाँ नेतृत्वमा ल्याउने निर्णय गरेको हो ।

हेमा ढुङ्गानाबाट शंकराचार्य हेमानन्द महाराज

जगतगुरु शंकराचार्य पशुपतिपीठ श्वामी हेमानन्द गिरी महाराजको जन्म २०३२ सालमा वीरगञ्जमा भएको हो । बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा लागिपरेकी गिरीले मोरङको उर्लाबारी बहुमुखी क्याम्पसबाट आइए अध्ययन गरी भारतको हरिद्वारबाट ‘आचार्य’ गरेकी छिन् । आचार्य गुरु पद हो, जुन पद प्राप्त गर्ने उनी विश्वकै एक मात्र महिला हुन् । जगतगुरु शंकराचार्य पशुपतिपीठ श्वामी हेमानन्द गिरी महाराजकोे वास्तविक नाम हेमा ढुंगाना हो ।

हेमानन्द गिरीको बाल्यकाल यही पथरी शनिश्चरे नगरपालिकामा बित्यो । यहाँ उनकी आमाले बनाएको एउटा घर छ । उनकी आमा लामो समयसम्म वीरगञ्जमा नर्स भएर काम गरेकी थिइन् । बाल्यकालदेखि नै परिवारभित्रको संन्यासी र अध्यात्मप्रतिको लगावका कारण यहाँसम्म आउनुमा उनले भगवानले साथ दिएको मान्छिन् ।

हिन्दू धर्मको प्रचार–प्रसारका लागि प्रभावशाली मानिने शंकराचार्य पदमा रहेको समयमा नेपालका लागि धेरै गर्न सकिने उनको विश्वास छ । ‘आफ्नो किरिया आफैंले गरिसकेकाले अब मेरो यो नयाँ जीवन हो । त्यसैले हिजो के थियो भनेर नखोजौँ,’ उनले भनिन्, ‘त्यसले अहिलेको आवश्यकता त्यो होइन, मैले भुलिसकेको छु ।’

उनले अब नेपालमा अपाङ्ग अशक्त, गरीब, असाहयहरूका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको बताइन् । ‘समाजसेवाका रूपमा काम गर्दै थिएँ, अहिले पनि गर्दैछु,’ उनले भनिन्, ‘यो कर्म भोलिका दिनसम्म पनि रहने छ ।’ सनातन धर्मको प्रचारको काम आफ्नो काँधमा आएको बताएकी उनले अब हिन्दूत्वको तीर्थस्थल नेपाल रहेकोमा गौरव गर्ने अवस्था सिर्जना गर्ने योजना सुनाइन् ।

के हो शंकराचार्य ?

शंकराचार्य हिन्दू धर्मको सबैधन्दा ठूलो पदवी हो । हिन्दू धर्मको सर्वोच्च धर्मगुरुको पद भएको विकिपेडियामा उल्लेख छ । यो पदको परम्पराको थालनी आदि गुरु शंकराचार्यले गरेका थिए ।

यो उपाधि आदि शंकराचार्य जो एक हिन्दू दार्शनिक एवं धर्मगुरु थिए, साथै जसलाई हिन्दूत्वका महान प्रतिनिधिका रूपमा चिनिन्छ, उनकै नाममा छ ।

आदि शंकराचार्यलाई जगतगुरुका रूपमा पनि सम्मान गरिन्छ, जुन सम्मान त्यसअघि भगवान् कृष्णलाई मात्र प्राप्त थियो । आदि शंकराचार्यले सनातन धर्मको प्रतिष्ठाका लागि भारतको चार क्षेत्रमा चार मठ स्थापित गर्नुका साथै ती मठमा चारवटा शंकराचार्य पद सिर्जना गरे अनि आफ्ना उत्कृष्ट शिष्यहरूलाई ती मठको प्रमुख बनाए । त्यतिबेलादेखि नै यी चार मठमा शंकराचार्य पदको परम्परा चल्दै आएको मानिन्छ ।

भारतीय परम्परा र हिन्दू धर्मलाई सिंगो देशमा फैलाउन भारतका चार कुनामा चार शंकराचार्य मठ स्थापना गरिएको बताइन्छ ।

इसापूर्वको आठौं शताब्दीमा स्थापना गरिएका यी चार मठको नेतृत्व अहिले पनि चारवटा शंकराचार्यले गर्ने व्यवस्था छ । ती शंकराचार्यले सनातन परम्पराको प्रचार–प्रसारको नेतृत्वसमेत गर्छन् ।

यी मठलाई गुरु–शिष्य परम्पराको केन्द्रका रूपमा समेत लिइन्छ । पूरै भारतमा सबै संन्यासी अलग–अलग मठसँग जोडिएका हुन्छन् । यी मठमा शिष्यहरूलाई संन्यासको दीक्षा दिइन्छ ।

संन्यास लिएर दीक्षित भएसँगै उनलाई एउटा विशेषण दिइन्छ, जसबाट यो थाहा हुन्छ कि यो संन्यासी कुन मठको हो र उसले वेदको कुन परम्परालाई निर्वाह गर्छ ।

सबै मठ अलग–अलग वेदका प्रचारक हुन् र यिनीहरूको एउटा महावाक्य हुन्छ । मठहरूलाई पीठ पनि भनिन्छ । चार मठका मठाधीशलाई शंकराचार्य भनिन्छ, र उनीहरूले आफ्नो जीवनका सबैभन्दा योग्य शिष्यलाई मठाधीश बनाउँछन् ।

भारतका श्रीङ्गेरी मठ, गोवर्द्धन मठ, शारदा मठ र ज्योर्तिमठमध्येको एक ज्योर्तिमठको शंकराचार्यका रूपमा हेमानन्द गिरी नियुक्त भएकी हुन् । यो मठ भारतको उत्तराखण्डको बद्रीनाथमा छ । यो मठबाट दीक्षा लिने संन्यासीको नामपछाडि गिरी, पर्वत र सागर विशेषण जोडिन्छ । लोकन्तर