/बलात्कार हुनबाट कसरी जोगिने ?

बलात्कार हुनबाट कसरी जोगिने ?

Reading Time: 1 minute

ददि सापकोटा

महिलाहरु साँझमा बाहिर एक्लै निस्कन डराउँछन् । एकलासको बाटो हिड्नु परे दशपटक सोच्छन् । बस्ती नभएको वा सुनसान ठाउँ पार गर्नुपर्दा महिलाले दाजुभाइ वा कोही भरपर्नेको साथ खोज्छन । पुरा बिश्वास नभएका पुरुषसँग तर्केर हिँड्छन् । कतै बलात्कृत पो भइन्छ कि भन्ने डरले यस्ता अक्किल अपनाउनु महिलाहरुको बाध्यता हो ।

यस्तो कृयाकलाप जीवजन्तुमा पनि हुने गर्छ । तर चाखलाग्दो पक्ष के छ भने बलात्कृत हुनबाट बच्न जीवजन्तुहरुले मानिसले भन्दा धेरै जुक्ति अपनाउछन् । किनभने जीवजन्तुमा पोथीहरु अझ धेरै बलात्कृत हुन्छन् । आँखा झिमिक्क गर्न नपाउँदै जनावरका पोथीले पटकपटक बलात्कृत हुनुपर्छ ।

हुन त यौनावस्थामा पुगेपछि वा यौनाकांक्षा जागेपछि वरिपरिका भालेमध्ये उपयुक्त भाले रोज्नु उत्तम बिज छान्ने एउटा गतिलो उपाय हो, पोथीहरुको । बेलैमा एउटा भाले ओगटेर बस्नु अन्य भालेबाट बलात्कृत नहुने उपाय पनि हो । त्यसरी घरजम गरिहाले आफ्नै भालेले सुरक्षा दिन्छ । तर पोथीहरुले यो तरिका अपनाउन नपाउँदै बलात्कृत भएमा के गर्ने ? यस्तो अवस्थामा इच्क्षा बिपरितका गर्भ रोक्ने अक्किल पनि हुन्छ पोथीहरुसित । बलात्कृत हुनबाट बच्ने पहिलो उपाय स्वरूप पोथीहरु आफूले नरुचाउने वा इच्छा बिपरितका भालेहरु भएतिर जाँदैनन ।

त्यस्ता हमलाकारी, जबर्जस्ती गर्ने भाले कुन कुन हुन् भन्ने धेरै पोथीले अनुमान लगाएका हुन्छन् । तिनको अघिल्लो वर्षहरुको अनुभवले नै बताउँछ । त्यस्ता भाले नजिक पर्दा पोथीहरु बुर्कुसी मारेर जोगिन्छन् । पोथीहरुमा ‘लौ बलात्कारी आयो’ भन्ने आतंक फैलिइहाल्छ ।

तर टाढा बस्दाबस्दै भालेले पनि पोथीलाई झुक्याउँछन् । लुकी लुकी पोथीको नजिक पुग्छन्, भालेहरुले । दाउ हेरेर बस्ने बलात्कारी भालेहरुले पोथीलाई लखेटेर भुत्लामा अँठ्याउँछन् । न्याकेर हलचल गर्नै नसक्ने बनाएपछि जबर्जस्ती पोथीमाथि चढ्छन् । यस्तो अवस्थामा पोथीले कारुणिक स्वर निकालेर कराउँछन । ‘बलात्कार भएँ, लौ न बचाउ’ भन्ने सन्देश दिने पोथीहरुको स्वर अलग्गै हुन्छ। हार गुहार मागेको स्वर आफ्नो प्रेमी भाले भए उसलाई सुनाउने र नभएमा वरिपरिका अन्य बलियालाई सुनाउँछन् । यस्तो स्वर सुन्नासाथ पोथीको रोजाईका मुली भाले प्रेमी भाले रहेनछ भने पनि वरिपरिका अन्य भाले आएर बलात्कारी भालेलाई गल्हत्याउँछन् ।

तर यो तरिकाले पनि सधैं काम गर्छ भन्ने निश्चित हुँदैन । किनकि त्यस्ता भाले टाढा रहेछन् भने पोथीको वेदना नसुन्न सक्छन । यस्तोबेला पनि पोथीसँग थप अक्किल हुन्छन् । यस्तो बेला त्यस्ता भालेले योनीभित्र छोडेको वीर्यलाई पोथीले बाहिर फालिदिन्छे । कहिलेकाहिँ त पोथीहरुले भाले आफ्नो ढाडबाट नओर्लदै तल फालिसकेका हुन्छन, यस्तो वीर्य । अर्थात् चराको योनीमा ढकनी जस्तो संयन्त्र हुन्छ जसले भित्र जान दिने कि बाहिरी सतहबाटै मिल्काइदिने भन्ने निर्णय गर्न सक्छ ।

संभवत यो तरिका चराहरुमा मात्रै नभएर गाई, भैसी, बाख्रा, घोडालगायतका जनावरहरुमा पनि लागू हुन्छ । किनभने गाउँघरमा यस्ता पाल्तु जनावरले पनि अली कमजोर वा साना भालेहरुले चढ्ने प्रयास गर्दा दौडिने, पुठ्ठा दायाँ बायाँ हल्लाएर भालेलाई आफ्नो शरिरमा अडिन नदिने, खुट्टाले हान्ने गरेको देखिन्छ । पोथीले संभोग गराउँदा नै कुन भालेको वीर्य डिम्बसम्म पुग्न दिने र कुन चाहिँको नदिने निर्णय गर्न सक्छे आफ्नो प्रजननको मार्गमै छेकबार गरेर ।

कतिपय अवस्थामा त पोथीले भालेहरुको जबर्जस्ती, करकाप र कुनै संकेत बिना नै थाहा पाउँछे बिभिन्न भालेहरुको बिजको भिन्नता । त्यो कसरि पत्ता लगाउँछे भन्ने चाहि रहस्यमय नै छ, अहिलेसम्मका लागि । बैज्ञानिकहरुका अनुसार यौनांगको सतहमा वीर्य चलखेल गर्न थालेपछि पोथीको प्रजनक तन्तु (रेप्रोडक्टिभ टिस्यु)ले वीर्य स्वीकार गर्न उपयुक्त छन कि छैन भन्ने थाह पाउँछ । भालेहरुको चाहना पनि पोथीहरुले आफ्नो वीर्य सकभर धेरै प्रयोग गरुन भन्ने हुन्छ । त्यसैले भालेहरुले सकभर धेरै वीर्य छोड्न खोज्छन्, पोथी यौनांगभित्र । धेरै वीर्य छोड्दा अन्य भालेले संभोग गरेको भए आफ्नो वीर्यले गर्भाधान गर्ने प्रक्रियामा जित्ला, आफ्नो बिउ छानिएला भन्ने सोच भालेहरुको हुन्छ ।

पोथी यौनांगको वरिपरि तैरिने तिनमा फरक फरक खाले प्रोटिन हुन्छन । त्यो वीर्यमा हुने प्रोटिन पोथीका लागि मानिसको हातका चक्र जस्तै हुन । अर्थात यस्तो हरेक भालेका प्रोटिन फरक फरक हुन्छन । पोथी यौनांगले तिनलाई स्पष्टसग पढ्न सक्छन । पोथीहरुले ती वीर्य बिचको भिन्नता ठ्याक्कै पत्ता लगाउँछन । अर्थात् आफ्नो यौनांगमा परेपछि कुन भालेको वीर्य कस्तो छ, कुन भाले कस्तो हो भन्ने अलग्गै छुट्याउन सक्छन् । भालेको लखेटाईबाट थाकेर भाग्न नसक्दा पनि पोथी बाध्यताले भालेका अगाडि लम्पसार परिदिन्छे । त्यस्तो अवस्थामा भालेले जबर्जस्ती संभोग गरे पनि उसको वीर्यलाई अस्वीकार गर्ने यहि अक्किल प्रयोग गर्छे । त्यसैले पोथीलाई जबर्जस्ती गरेर संभोगको आनन्द लिए पनि आफ्नो बंश फैलाउने तिनको चाहना भने सधैं पुरा हुन्न ।

यस्तो बाध्यकारी यौन संपर्कबाट बस्नसक्ने गर्भ रोक्न भालेका शुक्रकिटहरु रोकिदिने उपाय हुनुपर्छ अन्य जनावर र जीवमा पनि, त्यसो भन्छन वैज्ञानिकहरु । तिनले पनि सायद कुखुराले जस्तै वीर्य पाखा लगाइदिन्छन । अथवा ती जीवसँग ज्यादै जटिल (कम्प्लिकेटेड) प्रजननद्वार हुनुपर्छ, जसलाई तिनले पहिचानगरि भित्र जानै दिँदैनन ।

बाघहरुमा भालेहरुले सजिलै एक्ला पोथी नभेट्टाउनु डमरु सहितका पोथीहरुले हैरानी पाउनु हो । किनकि जंगलमा एक्ला पोथीहरु भेट्टाउन जति कठिन भयो भालेहरुले तेत्ति नै डमरुसहितका पोथीहरुतिर आँखा लगाउँछन । बच्चासितका माउलाई सास्ती दिन्छन् । पोथीहरुले भालेको यो चाला बुझेर गज्जबको अक्किल अपनाउँछन् । यस्तो बेला केहि पोथीहरुले आफू र आफ्ना बच्चालाई प्रेमीका रुपमा उभ्याउँछन् । तर त्यो वास्तविक रुपमा नभएर हमलाकारी, बलात्कारी भालेहरुबाट बच्न र बच्चाहरु बचाउने चलाखी मात्रै हो ।

यौनको खोजी गर्दै हिँडेका भाले बाघ निकट हुन लागे भन्ने थाहा पाएपछि आफ्नो हुर्कनै लागेको भाले डमरुलाई शरिरमाथि चढाएर पोथीले आफू अर्कै भालेसँग लहसिएको देखाउँछे । आफ्नै भाले डमरुलाई ढाडमा चढाएर उ पटक पटक झाडीभित्र पस्ने र निस्कने गर्छे । आफ्नो शरिरमाथि उकाल्ने र ओराल्ने गर्छे । ती डमरुहरु हुर्किएर माउबाट छुट्टिनेबेला नभएसम्म अथवा आफ्नो हेरचाह चाहिने बेलासम्म उसले त्यसै गरिरहन्छे । टाढैबाट यस्तो देखेपछि त्यो पोथीलाई अन्य कुनै भालेले ओगटिसकेको भालेहरुमा भ्रम पर्छ । यस्तो देखेपछि प्राय: भालेहरु तर्किएर सकभर अर्कै पोथीको खोजीतिर लाग्छन । किनभने बाघहरु सकभर द्वन्द्वबाट टाढै बस्न रुचाउँछन् । हत्त पत्त हमलामा नउत्रने स्वभाव हुनाले बाघहरु लडाई गरे भने एउटाको मृत्यु हुनसक्छ, वा गम्भिर घाइते हुनसक्छन् ।

कहिलेकाहीँ त्यस्ता डमरुले आफ्नी आमाको जुक्ति नबुझ्दा साँच्चिकै यौनाकांक्षा राखेको भ्रममा पर्छन । किनकि हुर्कँदो अवस्थाका त्यस्ता भाले जीवनका हरेक क्रियाकलाप सिक्ने अवस्थामा हुन्छन् । ती हरेक कुरामा जिज्ञासु हुन्छन् । सबै कुराको चासो राख्ने, सिक्ने र बुझ्ने अवस्थाका नयाँ नयाँ अनुभव लिन रुचाउँछन् । जब आफ्नै डमरुले लिंग फुलाएर पछाडिबाट आमाको शरिर पञ्जाले अँठ्याउँदै संभोग गर्ने संकेत गर्छ तब माउले उसलाई रोक्न झगडा गर्छे । कुनैबेला त डमरुहरुले जबर्जस्ती नै गर्छन । माउले झाप्पड हानेरै ढाडबाट ओराल्नु पर्छ तिनलाई ।

यस्तोबेला माउसँग मुकाबिला गरेर जित्नसक्ने अवस्थाका भैसकेका हुँदैनन डमरुहरु । यो कृयाकलाप भारतको पन्ना राष्ट्रिय निकुञ्जमा देखिए पनि बैज्ञानिक पुष्टि हुन भने बाँकी रहेको बताएका छन बैज्ञानिकहरुले । तर उनीहरुले के कुरा अनुमान र विश्वाश गरेका छन् भने प्रकृतिमा बलात्कारबाट जोगिने धेरै जीवका अनेक थरी अक्किल हुन्छन् । यदि बलात्कृत हुनबाट बच्ने अक्किल र उपाय नभए अनिच्क्षुक भालेबाट बस्न सक्ने गर्भ रोक्ने थरीथरीका अक्किल हुन सक्छन् ।

स्रोत: टिम बिर्कहेड, पेनीस पावर, बिबिसी वाइल्डलाईफ, अप्रिल २००२