/विद्युत् प्राधिकरणको खुद नाफा एक अर्ब

विद्युत् प्राधिकरणको खुद नाफा एक अर्ब

Reading Time: 1 minute

कुनै बेला वार्षिक आठ अर्ब रुपैयाँ घाटा खाएको विद्युत् प्राधिकरणमा सुधारका संकेत देखिन थालेका छन्। प्राधिकरणको वार्षिकोत्सवको पूर्वसन्ध्यामा उसले तयार गरेको अन्तिम आँकडाअनुसार गत आर्थिक वर्ष एक अर्ब एक करोड रुपैयाँ खुद नाफा हुने देखिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिददरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयनलगायतबाट प्राधिकरण बढी नाफा गर्न सफल भएको हो।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ थप आम्दानी भएको छ। प्राधिकरण गत आवमा विद्युत् चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ। प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत् चुहावट २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो। यसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशःकरिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत छ। चालु आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। ‘तर हाम्रो कोशिश १५ प्रतिशतमा कायम गर्ने रहने छ’, घिसिङले भने। प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ छ। प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब दुई अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियो तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफलता मिलेको छ। कार्यकारी निर्देशक घिसिङले भने, ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जा मन्त्री, ऊर्जा सचिव, सञ्चालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारीलगायत सबैको निरन्तर सहयोगबाट गत वर्ष पनि संस्था नाफामा गएको हो,तर हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन।’

उनले चालु आर्थिक वर्ष प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र सहायक कम्पनीमार्फत निर्माण भइरहेका चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने बताए। ‘ती आयोजना आएपछि हामीले सहायक कम्पनीमार्फत निर्माण गर्ने जलविद्युत् आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नु पर्दैन प्राधिकरण आफैंले लगानी गर्न सक्छ’ ,घिसिङले थपे। प्राधिकरणले जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय यस अघि नै गरिसकेको छ।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ थप आम्दानी भएको छ।

प्राधिकरणले आव २०७३÷७४मा विद्युत् बिक्री र ब्याजलगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकामा आव २०७४÷७५मा यसलाई बढाएर ६०अर्ब ४८ करोड रुपैयाँ पु¥याएको छ। लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहको कुशलतापूर्वक सञ्चालनले प्राधिकरणको आम्दानी बढेकोे हो। लोडसेडिङ अन्त्य हुँदा सहरी क्षेत्रका ठूला ग्राहस्थ्र्य तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ।

‘हामीले सञ्चालन गरेको, ‘उज्यालो नेपाल अभियान’बाट उपभोक्ताले उज्यालो मात्रै पाएका छैनन्, कहीं केही हुँदैन भन्ने समाजमा व्याप्त निराशालाईसमेत चिर्दै केही हदसम्म आशाको सञ्चार गराएको छ, नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्र नै चलायमान भएको छ’, घिसिङले भने। ‘प्राधिकरण सवल र सक्षम संस्थाबन्दै गएको छ, अब लोडसेडिङ अन्त्य भइसकेकाले संस्थाले प्रवाह गर्ने सेवा सुधारमा ध्यान केन्द्रित गरिरहेका छौं।’

भारतबाट विद्युत् आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिकाकारण ढल्केवरबाट खरिद गरिएको विद्युत्को महशुल केही वृद्धि भएता पनि आयातित विद्युत्को औसत खरिद दर भने बढेको छैन। आव २०७४÷७५को विद्युत् औसत आयातदर सात रुपैयाँ ४७ पैसा छ। प्राधिकरणको उपभोक्ता औसत महसुलदर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ। गत आवमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको थियो। आव २०७३÷७४ मा दुई अर्ब १७ करोड युनिट आयात गरिएको थियो।

‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिददर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिँदै आएको प्रति युनिट आठ रुपैयाँ ४० पैसाभन्दा कम छ’,कार्यकारी निर्देशक घिसिङले भने, ‘आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्मका लागि हाम्रो विद्युत्् माग र आपूर्ति व्यवस्थापन गर्न तत्काल यो बाहेक अरु विकल्प छैन।’

Source: annapurnapost