/८ वर्षमा २१ अर्बको बैंकिङ ठगी, १ सय ९० जना पक्राउ

८ वर्षमा २१ अर्बको बैंकिङ ठगी, १ सय ९० जना पक्राउ

Reading Time: 0 minute

एटिएमबाट साढे २ करोड ठगियाे

काठमाडौं–पछिल्लो ८ वर्ष ४ महिनामा २१ अर्ब रुपैयाँभन्दा बढीको बैंकिङ ठगी भएको छ। ठगीमा संलग्न एक सय ९० जनालाई प्रहरीले पक्राउ गरेको छ भने अझै एक सयभन्दा धेरै फरार छन्।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा हालसम्म २१ अर्ब ३७ करोड ४१ लाख ९ सय ७६ रुपैयाँ ठगीको अनुसन्धान गरेको छ।

ठगीमा संलग्न १ सय ९० जना पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा बैंकका सञ्चालक, कर्मचारी तथा ऋणीदेखि धितो मूल्यांकनकर्तासम्म छन्।

पछिल्लो ८ वर्षको अवधिमा मुद्दाको संख्यामा खासै थपघट नदेखिए पनि बैंकिङ अपराधको प्रकृतिमा भने परिर्वतन भएको सिआइबीका डिएसपी श्यामबाबु ओलियाले बताए।

उनले भने, ‘सुरुवाती समयमा कर्मचारीको मिलेमतोमा नक्कली धितो राखेर ऋण नबुझाउने केसहरु धेरै आउँथे। अहिले कर्मचारीको मिलेमतोमा करोडौं रुपैयाँ हिनामिना गरेका केसहरु आउने गरेका छन्।’

यस बिगो मागदाबीको संख्या नबढे पनि पक्राउ पर्नेको संख्यामा भने वृद्धि देखिएको छ। आर्थिक वर्ष २०६७/०६८ मा बैंकिङ कसुरमा ७ जना पक्राउ परेका थिए। यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ५३ जना पक्राउ परेका छन्।

४ महिनामा बैंकका ३ कर्मचारीसहित ७ जना पक्राउ

बैंकिङ कसुर अभियोगमा चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा दुई मुद्दाबाट ७ जना पक्राउ परेका छन्। ४ महिनाको अवधिमा बैंकिङ कसुर मुद्दाबाट हालसम्म १ करोड ५० लाख ७७ हजार ४ सय ५२ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर भएको छ।



जसमा सिटिजन्स बैंक इन्टरनेसनलविरुद्ध १ करोड २८ लाख रुपैयाँ बिगो रकम मागिएको छ। बैंकको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पुर्‍याएका थिए।

यसमा संलन बैंकका तीन कर्मचारीसहित ६ जनालाई पक्राउ गरेको सिआइबीले जनाएको छ। त्यस्तै सनराइज बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ बिगो मागदावी परेको छ।

४ वर्षमा एटिएमबाट साढे २ करोड ठगी

पछिल्लो चार वर्षमा एटिएमबाट २ करोड ५७ लाख ४४ हजार ४ सय ३१ रुपैयाँ ठगी भएको छ। यस अवधिमा १३ मुद्दा दायर भएका छन् भने २३ जना पक्राउ परेका छन्।

एटिएमबाट हुने ठगी भने घट्दो क्रममा रहेको डिएसपी ओलियाले बताए। आर्थिक वर्ष २०७०/०७१ मा ५ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७४/०७५ मा ३ जना पक्राउ परेका छन्।

सिआइबिले तत्काल कारबाही अगाडि बढाएकोले एटिएम ठगी घटेको उनले बताए। एटिएम ठगीमा मुख्य विदेशीको हात हुने उनले बताए। पछिल्लो समय एटिएम ठगीको प्रकृति (ट्रेन्ड) बदलिएको उनले बताए। भने, ‘पहिले विदेशीले एटिम काउन्टरबाट सिधै पिन प्रयोग गरेर पैसा निकाल्थे। अहिले पोस्ट मेसिन प्रयोग (स्वइप) गरेर एटिएमबाट पैसा ठगी गर्ने प्रवृत्ति बढेको छ।’

हालसम्म ८८ लाख ७६ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय २५ अमेरिकी डलर, ७३ हजार ८ सय ७५ युरो, ३३ हजार इन्डोनेसियन रुपी, ४ सय ७० फिलिपिन करेन्सी बरामद गरिएको सिआइबिले जनाएको छ। त्यस्तै १ हजार ३ सय ५७ थान एटिएम बरामद भएको छ। हालसम्म एटिएम ठगीमा १८ जना विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल लाइभबाट