/मिक्लाजुङमा रोटरीको निःशुल्क स्वास्थ्य शिविर

मिक्लाजुङमा रोटरीको निःशुल्क स्वास्थ्य शिविर

Reading Time: 1 minute

तस्बिर: शरद जोशी

बिर्तामोड -“स्वास्थ्य यात्रा एक कदम स्वास्थ्य समाज तर्फ” भन्ने नाराका साथ पाँचथरको मिक्लाजुङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढी सर्वसाधारणले सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षण गरेका सबैले निःशुल्क औषधि समेत प्राप्त गरेका छन् । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन,  रोटरी क्लब अफ दमक,  रोटर्याक्ट क्लब अफ बिर्तामोड मिड्टाउन, र रोटर्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो । मिक्लाजुङ गाउँपालिका वडा न. १ र वडा न. २ वडा कार्यालयले संयोजन गरेको स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका हुन् ।

त्यस क्रममा बि एण्ड सी अस्पतालले चिकित्सक सहितको प्राविधिक सहयोग गरेको थियो । जसमा जेनेरल फिजीसियन , बाल रोग विशेषज्ञ,  स्त्री रोग विशेषज्ञ,  हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ  रहेका थिए भने महिलाको पाठेघरको समेत जाँच गरिएको थियो । त्यस्तै बिर्तामोड आँखा अस्पतालको सहयोगमा विशेषज्ञ सहितको टोलीले आँखा जाँच, निःशुल्क औषधी र चस्मा समेत उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउन संस्थापक अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनु भयो ।

मिक्लाजुङ गाउँपालिका वडा न. २ का वडा अधक्ष्य सन्त कुमार शेर्माको अध्यक्षतामा र रोटरी क्लब अफ बिर्तामोड मिड्टाउनकि अध्यक्ष शुभ कुमाई पाठकको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन पछि मिक्लाजुंग, सत्तमी, पञ्चमी, फाल्गुनन्द, सहित दशमी, रवि, भालु टार लगायतका सर्वसाधारण निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका हुन्  ।

मिक्लाजुङ गाउँपालिका २ सत्तमी बजार स्थित युवा वर्ष मा.वि को प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा आकस्मित उपचारको तालिम रोटरी क्लब अफ दमकका पुर्व अध्यक्ष डा. मुक्ति भट्टराईले दिएका थिए भने ४० वटा ‘फस्ट एड बक्स’ समेत वितरण गरिएको थियो ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले पूर्वी नेपालका पहाडी तथा दुर्गम ठाउँमा विशेषज्ञ चिकित्सक र अस्पतालको सुविधा नभएको ठाउँमा यो भन्दा अघि पनि धरै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको रोटरी क्लब अफ बिर्तामोड मिड्टाउनकि अध्यक्ष शुभ कुमाई पाठकले आफ्नो मन्तव्यको क्रममा बताउनु भएको थियो ।

सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका १ र २ वडाका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको ‘हामीलाई पनि जाडो लाग्छ’ कार्यक्रम अन्तर्गत रही ज्याकेट वितरण गरिएको थियो । आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई चयन गरी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको रोटर्याक्ट क्लब अफ बिर्तामोड मिड्टाउनका संस्थापक अध्यक्ष शरद जोशीले बताउनु भयो ।

त्यस अघि गाउँपालिका उपाध्यक्ष उर्मिला राईले औपचारिक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै “यातायातको र स्वास्थ्य सुविधाको पहुँच नभएका ठाउँमा यस्ता स्वास्थ्य शिविर निकै महत्त्वपूर्ण रहेको” बताउनु भयो ।

शिविरमा उपस्थित ७६ वर्षीया एक वृद्धले “आँखाको ज्योति गुम्नै लागेको रैछ निःशुल्क चस्मा पनि पाए र बिर्तामोड आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दुको अपरेसन नि गर्दिने भन्नु भएको छ ।” खुसी हुँदै भने।

नेपाल औषधि बिक्रेता प्रतिनिधि सङ्घ मेची युनिट को समेत सहभागिता रहेको स्वास्थ्य परीक्षण शिविरमा इन्नर व्हील क्लब अफ बिर्तामोड मिड्टाउन र नेपाल रेड क्रस सोसाइटी फिदिमले समेत सहयोग गरेको थियो ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर राज माथिमले दुर्गम ठाउँमा आएर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने रोटरी तथा रोटर्याक्टको प्रशंसा गर्नु भएको थियो ।