/हाम्रो ब्रह्माण्डको अन्तिम एवं छैटौं चरणमा प्रवेश गरिसक्यौं

हाम्रो ब्रह्माण्डको अन्तिम एवं छैटौं चरणमा प्रवेश गरिसक्यौं

Reading Time: 1 minute
ब्रम्हाण्डको अन्तिम चरणमा मात्रै पृथ्वीको जन्म

हाम्रो सामान्य आँखा र बुद्धिले हेर्दा ब्रह्माण्ड शताब्दियौंदेखि जस्ताको त्यस्तै देखिन्छ । ब्रह्माण्ड मात्र किन ? सामान्य बुद्धि र आँखाको आँकलनअनुसार त पृथ्वी पनि स्थिर रहेकै दृष्टिगोचर हुन्छ ।

तर, विज्ञानको आँखा र बुद्धि भन्छ, ‘न त पृथ्वी नै स्थिर छ र न त यो अनन्तसम्म फैलिएको ब्रह्माण्ड नै स्थिर छ । वैज्ञानिक मान्यताअनुसार १३.८ अर्ब वर्ष पहिला ब्रह्माण्डको प्रारम्भ नै ‘बिग व्याङ्ग’ नामक विस्फोट वा घटनारुपी विस्तारबाट अस्तित्वमा आएको थियो । त्यसपछि निरन्तर यसको विकास, वृद्धि वा विस्तार भइरहेको वैज्ञानिक तथ्य र प्रमाण उपलब्ध छन् ।

जसरी पृथ्वीमा स्थिर बसिरहँदा हामीलाई विश्वास गर्न गाह्रो हुन्छ कि पृथ्वीसँगै हामी ४६५ मिटर प्रतिसेकेन्ड अर्थात् २७.९ किलोमिटर प्रतिसेकेन्ड अथवा हाम्रो चलनचल्तीमा रहेको युनिट १६७४ किलोमिटर प्रतिघण्टाको वेगले हामी पृथ्वीसँगै गतिमान रहेका हुन्छौं । हामीसँग यसलाई कुनै वैज्ञानिक प्रयोग नगरिकन बुझ्ने क्षमता छैन । र, यो त पृथ्वीको र हामी पृथ्वीमा बसेका समस्त प्राणीहरुको प्राथमिक गति मात्रै हो । पृथ्वी आफ्नो अक्षमा घुम्नका साथै सूर्यको पनि परिक्रमा गर्छ । सूर्यको परिक्रमा पृथ्वीले २९.७८ किलोमिटर प्रतिसेकेन्ड अर्थात् १ लाख ७ हजार २०० किलोमिटर प्रतिसेकेन्ड घण्टाको दरले गर्छ । सम्झनुस्, पृथ्वीसँगै तपाईँ पनि जुनबेला जहाँसुकै स्थानमा भए पनि यसै गतिले वेगमा भइराख्नुहुन्छ ।

 पृथ्वीसँग मात्र होइन, तपाईँ सूर्यको गतिसँगै हाम्रो आकाशगंगा अर्थात् ‘मिल्की वे’को ‘ग्यालेक्सी सेन्टर’ को पनि परिक्रमा गर्नु हुन्छ । ‘मिल्की वे’ पनि स्थिर कहाँ हुनु, यो आफैंले पनि अर्को ‘सुपर क्लस्टर’ को परिक्रमा गर्छ । स्मरण रहोस्, सुपर क्लस्टर भनेको आफैंमा स–साना आकाशगंगाहरुको झुण्डहरुको एउटा विशाल समूह हो ।

ब्रह्माण्ड अनन्त छ, ब्रह्माण्डमा ‘मिल्की वे’ जस्ता खर्बौ आकाशगंगा छन् । ब्रह्माण्ड हिजोको दिनमा जे जस्तो थियो, आज त्यही छैन । प्रतिक्षण यसको विस्तार भइरहेको छ । यहाँ सेकेन्डमै हजारौं भागमा अनेकौं परिवर्तन भइरहेका हुन्छन् । एक सेकेण्डमै ब्रह्माण्डमा करोडौं विस्तार हुन्छ ।

हो, ब्रह्माण्डको यो विस्तार प्रकाशको गतिभन्दा पनि हजारौं गुणा बढी गतिले भइरहेको छ । हाम्रो समयमापन (टाइमस्केल) मा यो ब्रह्माण्डको उत्पत्ति १३.८ अर्ब वर्ष पहिला भएको थियो । ‘बिग व्याङ्ग’ हुनुभन्दा पहिला समस्त ब्रह्माण्ड एक अणुजस्तो संरचनामा समेटिएको थियो ।  ‘बिग व्याङ्ग’ पश्चात निरन्तर यसको विस्तार हुँदै आएको छ । वैज्ञानिकहरुका अनुसार यसको विस्तार ९३ अर्ब प्रकाशसम्म भइसकेको छ । भनाइको अर्थ ब्रह्माण्डको एक कुनाबाट अर्को कुनासम्म पुग्न प्रकाशलाई ९३ अर्ब वर्षको समय लाग्छ । ‘बिग व्याङ्ग’ पश्चात प्रकाशको गतिले नै ब्रह्माण्डको विस्तार भएको भए १३.८ अर्ब वर्षमा ब्रह्माण्डको आकार १३.८ अर्ब प्रकाश वर्ष मात्रै हुनुपथ्र्यो ।

सन् १९३० कै दशकमा वैज्ञानिक एडविन हब्बलले ब्रह्माण्डको विस्तार प्रकाशभन्दा पनि तीब्र गतिले भइरहेको प्रमाणित गरेका थिए । ब्रह्माण्डमा भइरहेको यस तीब्र विस्तारले अत्यधिक दूरीमा रहेका खगोलीय पिण्डहरुका बीचको दूरी समयका साथ झनभन बढ्दै गइरहेको छ ।

तपाईँ भन्न सक्नुहुन्छ १ सेकेण्डभन्दा पहिला ब्रह्माण्ड अहिलेभन्दा सानो थियो । एक सेकेन्डपछि ब्रह्माण्डको आकार अहिलेभन्दा ठूलो हुनेछ । ब्रह्माण्डमा निरन्तर हुने यस विस्तारले ब्रम्हाण्डीय समयमापन (कस्मिक टाइमस्केल) मा वृद्धि हुनुका साथै अति टाढासम्मका खगोलीय पिण्डहरुका बीचको दूरी पनि बढाउँछ । यसका साथै ब्रह्माण्डमा हुने विस्तारले यसका मध्यममा रहेका पदार्थ, विकिरण, न्युट्रिनो र डार्क इनर्जीको मात्रामा पनि परिवर्तन आउँछ । ब्रह्माण्डमा भएको वा भइरहने विस्तारले बह्माण्डको तापमान माथि पनि प्रभाव पार्छ । हामी भन्न सक्छौं हामीले हेर्ने गरेको आकाश एकनाश रहँदैन, यसमा अनेकौं नाटकीय परिवर्तन भइरहन्छन् ।

वैज्ञानिकहरुले ब्रह्माण्डको उत्पत्तिदेखि अहिलेसम्म भएका सबै परिवर्तनलाई ६ चरणमा विभाजित गरेका छन् र भनिन्छ वर्तमानमा हामी छैटौं चरणमा वा अन्तिम चरणमा प्रवेश गरिसकेका छौं ।

अविरल, अनवरत विस्तार भइरहेको ब्रह्माण्ड (Expanding Universe) सबैभन्दा माथिल्लो क्रममा रहेको पदार्थ, बीचमा रहेको विकिरण र सबैभन्दा तल्लो तहमा रहेको ब्रह्माण्डीय नियतांक (Cosmological Constant) तीनवटैको यस विस्तार र समयमा सहभागिता रहन्छ । ब्रह्माण्डको विस्तारसँगै पदार्थको घनत्वमा तरलता (सघनताबाट विरलता उन्मुख) आउँछ । यसैगरी सबैखाले विकिरणको तरंग (Wave) तन्किएर तिनको तरंगदैध्र्य (Wavelength) लामो भएर उनको  इनर्जी काम हुनुका साथै ती चीसो हुन पुग्दछ । यस क्रममा ब्रह्माण्डीय नियतांक ‘डार्क इनर्जी’ भने स्थिर रहन्छ (वर्तमानको वैज्ञानिक मान्यता अनुसार) । डार्क इनर्जी को प्रकृति र प्रवृत्तिबारे विज्ञान अझै अन्योलमै रहेको छ ।

यसबारे यस ग्राफबाट बुझ्न सकिन्छ :

हाम्रो ब्रह्माण्डमा रहेका जुनसुकै वस्तु अथवा कुरामा निश्चित मात्रामा इनर्जी रहेको हुन्छ, त्यो चाहे पदार्थका रुपमा, विकिरणका रुपमा अथवा डार्क इनर्जीका रुपमा होस् । ब्रह्माण्डको विस्तार हुनासाथ इनर्जीका उपर्युक्त सबै स्वरुपको आयातन र मात्रामा अविलम्ब परिवर्तन आउँछ । सबैमा संग्रहित विभिन्न प्रकारको इनर्जी भिन्दाभिन्दै सक्रिय र प्रभावित हुन्छ ।

उदाहरणका लागि हामीले दृश्य ब्रह्माण्डमा हुने परिवर्तनलाई A मान्ने हो भने– ब्रह्माण्डमा रहेका पदार्थको इनर्जी घनत्व प्रक्रियामा सहभागी भएर 1/A3 ले प्रभावित हुन्छ । जस्तो कि तपाईँलाई थाहा छ पदार्थको हकमा घनत्व भनेको पदार्थको आयतनमाथिको मास (Mass) हो । र, पदार्थमा रहेको मास सजिलै इनर्जीमा रुपान्तरित हुन्छ । आइन्टाइनको फर्मूला सम्झिनुस् : E= MC2

ब्रह्माण्डमा उपस्थित रहेका विकिरणको इजर्नी घनत्व प्रक्रियामा 1/A4 ले प्रभावित हुन्छ । विविरणका हकमा घनत्व भनेको यसमा रहेका कण (particals) को संख्यालाई आयातनबाट विभाजित गरे बराबर हुन्छ ।

विकीकरणका हकमा आउने परिवर्तन पदार्थमा आउने परिवर्तन भन्दा 1A बढी यस कारणले हुन्छ– विकिरणमा रहेका प्रत्येक फोटोन  (Photon) ब्रह्माण्डको विस्तारसँगै तन्किएर उनको इनर्जी पनि कम हुन्छ ।

ब्रह्माण्डको विस्तार हुँदा ‘डार्क इनजी’ को घनत्व स्थिर रहन्छ । डार्क इजनी अन्तरिक्षकै स्वरुप भएकाले यसको घनत्वमा कुनै प्रभाव पर्दैन, 1/A0

१३.८ अर्ब वर्ष पहिला अस्तित्वमा आएको ब्रह्माण्ड अत्यन्त ठूलो र यो प्रतिक्षण ठूलो हुने क्रम जारी छ ।  बिग व्याङ्गको प्रारम्भमा अति तातो रहेको ब्रह्माण्ड विसतारै चिसिँदै आएको र यसको चिसिने क्रम पनि जारी नै छ । भविष्यमा यो झन झन चिसो हुनेछ ।

प्रारम्भमा ब्रह्माण्डमा गुरुत्वकर्षणीय एकरुपता थियो, जुन अहिले आएर छिन्न भिन्न भएको छ । ब्रह्माण्डको स्वरुप विगतमा सानो थियो, जुन वर्तमानमा ९३ अर्ब प्रकाश वर्षसम्म विस्तृत भएको छ । र, भविष्यमा यो झन झन विस्तृत हुँदै जानेछ ।

विज्ञानले विकसित गरेका उन्नत प्रविधि र साधनको माधयमले हेरिएको र नापिएको ब्रह्माण्डको सवरुप र आकारमा भौतिक विज्ञानका नियम लागू गरेर बुझ्न सकिन्छ : ब्रह्माण्डको यात्रा कहाँबाट सुरु भएको थियो र यो कता जाँदैछ ।

विज्ञानले ब्रह्माण्डको प्रारम्भ विन्दु ‘बिग व्याङ्ग’ मात्र होइन, त्योभन्दा पहिलाको ‘कस्मिक इन्फ्ल्यासन’ बारे पनि लख काट्छ । आज हामी वर्तमानको ब्रह्माण्ड र यसको भविष्यबारे अनुमान लगाउनुका साथै सबै थोकको अन्तिम भाग्य र भविष्यबारे पनि अनुमान लगाउन सक्छौं ।

ब्रह्माण्डको सम्पूर्ण इतिहासबारे सिद्धान्ततः हामीलाई सबै कुरा राम्ररी नै थाहा भइसकेको छ । तर यसमा विशेष गरी एउटै कुराको अभाव टड्कारो रुपमा खड्किन्छ । बह्माण्डमा व्याप्त चारवटा आधारभूत शक्तिहरु  (फन्डामेन्टल फोर्स) मध्ये हामीलाई गुरुत्वाकर्षणबारे मात्रै धेरथोर मात्रामा थाहा छ । अन्य ‘फोर्स’ इलेक्ट्रोम्याग्नेटिक ‘स्ट्रंग न्युक्लियर’ र ‘विक न्युक्लियर फोर्स’ बारे हाम्रो ज्ञान प्राथमिक स्तरमै रहेको छ ।

यस्तो परिस्थितिमा पनि हामीलाई स्पष्ट के थाहा छ भने ब्रह्माण्डको विस्तार हुने गति के छ ? र, यस विस्तारले हुने इनर्जी संघटनबारे यो थाहा छ कि प्रकाशले सधैं विस्तारित भइरहेको ब्रह्माण्डसँगै गति गर्छ । भविष्यमा विस्तारित भएको ब्रह्माण्डबाट पनि प्रकाश हिँडेर हामीसम्म आइपुग्नेछ । चमक या अन्त्यन्त मधुरो र लामो तरंगदैघ्र्य भएको प्रकाशको वैज्ञानिक विधिले अध्ययन सम्भव भइसकेको छ । हो यो अध्ययन पाटोबाट हुनेगर्छ ।

जब हामी ब्रह्माण्डको अध्ययन गर्ने क्रममा यसको सवाभाव र गुणधर्मको आधारमा यसको वर्गीकरण गर्छौं, त्यसबेला हामीले यसले विभिन्न ६ वटा युग पार गर्दै अघि बढिरहेको पाउँछौं ।

१. इन्फल्यासनरी युग –  यस युगमा ‘बिग व्याङ्ग’को पृष्ठभूमि तैयार भएको थियो ।

२. प्रिमोडियल सोप युग– बिग व्याङ्गको प्रारम्भदेखि न्युक्लियर र कणहरुको (पार्टिकल) आपसी क्रिया शुरु हुँदासम्मको प्रारम्भिक अवस्था ।

३.प्लाजमा  युग– नछरिने न्युक्लियर र पार्टिकलहरुको आपसी क्रियाको अन्त्यदेखि अस्तित्वमा नआएसम्म र ब्रह्माण्ड पर्याप्त मात्रमा चिसो नहुँदासम्म ।

४. डार्क युग– जड पदार्थको विन्यासदेखि तारा र आकाशगंगाहरुको अत्पत्तिसम्म । यसै युगमा तारा र आकाशागंगाहरुबीच महाकाश बन्यो । आकाशमा आयन(IoN) बन्ने ।

५. स्टेलर युग– आयनहरुको आपसी संयोजनदेखि गुरुत्वाकर्षणको उत्पत्तिसम्म । यसै युगमा ठूला आकारका खगोलीय संरचना बने र पदार्थको घनत्वमाथि ‘डार्क इनर्जी’को प्रभाव कायम भयो ।

६. डार्क इनर्जी युग– हाम्रो ब्रह्माण्डको अन्तिम चरण । यस चरणमा प्रवेश गर्दा ब्रह्माण्डको द्रुततर विस्तार भयो । यसकारण खगोलीय पिण्डहरुका बीचको दूरी बढ्यो ।

विज्ञानका अनुसार हामीले अर्बौं वर्ष पहिला नै ब्रह्माण्डको छैटौं तथा अन्तिम चरणमा प्रवेश गरिसकेको छौं । हाम्रो ब्रह्माण्डको इतिहास झल्काउने तमाम महत्वपूर्ण घटनाहरु हामी मनुष्यको उत्पत्ति हुनुभन्दा पहिला नै संपादित भइसकेका छन् ।

हेरौं ब्रह्माण्डको विभिन्न छ चरणमा कुन चरणमा कस्तो विकास भयो ।

१.इन्फल्यासनरी युग : यो भनेको अति तातो ‘बिग व्याङ्ग’ हुनुभन्दा पहिलाको समय हो । यस बेला केही पनि थिएन । त्यो विभिन्न धर्मशास्त्रले भन्छन् नि, न पृथ्वी थियो, न जल, न सूर्य र न आकाश नै थियो । न प्रकाश थियो न अन्धकार थियो । यस बेला ब्रह्माण्डमा कुनै पनि प्रकारको पदार्थ, प्रतिपदार्थ (Antimatter) वा विकिरण थिएन । जे थियो, त्यो विरुद्ध ऊर्जाको स्वरुपमा थियो ।

यसै ऊर्जाले कालान्तरमा ब्रह्माण्डलाई द्रुत गतिले फैलिन मद्दत गर्‍यो । यस ऊर्जाले प्रारम्भमा जुन विधिले भएपनि ब्रह्माण्डलाई तन्कायो र यसलाई अद्वितीय रुप प्रदान गर्‍यो । किनकि ब्रह्माण्ड एउटै थियो तसर्थ सानो तन्काइले पनि यो महाविशाल हुँदै गयो । यहाँसम्म कि अहिले यसको विस्तार दृश्य बह्माण्डको सीमानाभन्दा पनि पारिसम्म पुगेको छ ।

यसै चरणमा ‘क्वान्टम’ स्तरमा भएका गतिविधिले सबै संरचनाहरुका लागि बिउको कम गर्‍यो । यसकै परिणाम स्वरुप ब्रह्माण्ड ‘कस्मिक वेभ’ले भरिभराउ बन्यो ।  यस युगको समाप्ति भनौं आजभन्दा १३.८ अर्ब वर्ष पहिला भएको थियो । यस युगको अन्त्यतिर भएभरको ऊर्जा विभिन्न कण, प्रतिकण र विकिरणमा रुपान्तरित भयो । यो रुपमान्तरण हुनासाथ यस युगको अन्त्य भएर ‘हट बिग व्याङ्ग’ को सुरुआत भयो । 

२. प्रिमोडियल सोप युग : तत्कालीन ब्रह्माण्डमा पदार्थ, प्रतिपदार्थ तथा विकिरणको उत्पत्ति हुनासाथ बिग व्याङ्गमा उत्पन्न भएको परमताप चिस्सिन थाल्यो ।

जब कुनै दुईवटा कण आपसमा संयोजित हुन्छन्, यस प्रक्रियामा बन्ने कण अथवा प्रतिकणको युगमा भौतिक विज्ञानको नियमअन्तर्गत नै निर्माण हुन्छन् । प्राथमिक अवस्थामा भने संयोजित हुने कणको इनर्जीले संयोजनका लगि अवरोध गरेपनि संयोजन हुँदा भने यसले आइस्टानको विश्वप्रसिद्ध फर्मुला E= MC2 को पालना गर्‍यो ।

ब्रहमाण्ड केही चिसो हुनासाथ ऊर्जाको स्तर घट्यो र यसले झनझन कडा हुँदै (आकार ग्रहण गर्दै) भारयुक्त कण र प्रतिकण बनायो । तर कण तथा प्रतिकणको संयोजनले महाध्वंस गर्नुका साथै कणहरुको अन्य प्रतिक्रियाले भने कण बन्नु र नष्ट हुनुकै अक्षुण्ण प्रक्रिया चलिरह्यो । यसले गर्दा स्थितिमा कुनै भिन्नता आउन सकेन ।

तर ‘बिग व्याङ्ग’ घटित भएको १–३ सेकेन्डभित्र समस्त प्रतिकण दृष्यपलटबाट ओझेल भए । कणमात्रै बाँकी रहे । बिग व्याङ्ग भएको ३ देखि ४ मिनेटमा हाइड्रोजनको आइसोटोप भनिने ड्युटेरियम बन्नुका साथै केही हलुका तत्व बन्ने ‘न्युक्लियोसिन्थेंसिस’ प्रक्रिया प्रारम्भ भयो ।

३.प्लाजमा  युग : एकपटक हलुको ‘न्युक्लिआई’ बनेपछि ब्रह्मान्डमा यी नै धनात्मक आवेश भएका (Positively charged) वस्तु (Object) बने र ब्रह्मान्डभरि जताततै छरिए । स्मरण रहोस् यिनलाई सन्तुलित समान मात्राको ऋणात्मक आवेश (Negative charged) युक्त इलेक्ट्रोन तत्कालै बने । ‘न्युक्लिआई’ र इलेक्ट्रोनले अणुको सिर्जना गरे । यी दुवै घनात्मक आवेश र ऋणात्मक आवेशले तुरुन्तै एकअर्कालाई भेट्टाउन र अणुको निर्माण गर्दै तारा निर्माण हुने बाटो बनाउँछन् । यी दुबै खाले आवेश नै कुनै पनि कण निर्माण हुने पहिलो मुख्य कारण हुन् ।

इलेक्ट्रान र न्यूक्लिआईका बीच प्रतिक्रिया हुनलाई अत्यधिक ऊर्जा बोकेको फोटोन कणको भूमिका हुन्छ । अर्बौको संख्यामा रहेका इलेक्ट्रान र न्युक्लिआईमध्ये कुनै एकसँग फोटानले अभिक्रिया गर्छ । जुन बेला एउटा इलेक्ट्रोन र न्युक्लियाइ एकआपसमा ठक्कर दिई जोल्टिन आए, अत्यधिक इनर्जीयुक्त फोटानले आएर उनलाई छुट्ट्यायो । यो प्रक्रिया नाटकीय रुपमा ब्रह्माण्ड चिसो नभएसम्म चलिनै रह्यो । कति चिसो ? अर्बौ डिग्री सेलसियसबाट  केही हजार डिग्री तापमान नझेसम्म यो प्रक्रिया चलिरह्यो । यसको परिणामस्वरुप अन्तत: जड अणुहरुको उत्पत्ति भयो (निसन्देह यो सबै सम्भव हुनुमा विशेष प्रकारको ‘आणविक अवस्थान्तर’ को महत्वपूर्ण भूमिका थियो) ।

‘प्लाजमा’ युगको प्रारम्भमा ब्रह्माण्ड ऊर्जाको मात्रा विकिरणभन्दा कम थियो । र यस युगको अन्त्यमा भने साधारण ऊर्जा र डार्क म्याटरले ब्रह्माण्ड ऊर्जालाई कम तुल्यायो । ‘प्लाज्मा’ युग भनिने यस तेस्रो चरणको समय अवधि ‘बिग व्याङ्ग’ पछि ३ लाख ८० हजार वर्षसम्म रहेको अनुमान गरिन्छ । 

४. डार्क एज युग : ब्रह्माण्ड जड (तटस्थ) अणुले भरिदै गएपछि अन्तमा आएर चौथो ‘फन्डामेन्टल फोर्स’ गुरुत्वाकर्षणको उदय भए पश्चात ब्रह्माण्डमा ठूला खगोलीय संरचना बन्ने प्रारम्भ भयो । तर ब्रह्माण्डभरि छरिएर रहेका यी अणुले दृश्य प्रकाशलाई महाकाशभरि अदृश्य बनारह्यो । आज हामीलाई थाहा छ यस्तो किन भयो वा हुने गर्छ ? यसको कारण हो यी तटस्थ अणुको निर्माण ‘कस्मिक डस्ट’ (धुलो)बाट भएको हुन्छ । यसै कारणले यी दृश्य प्रकाशलाई  छेक्न सक्छन् ।

यस अध्यारो युगको (डार्क एज युग) अन्त्य हुनका लागि अन्तरतारकीय आकाशमा (इन्टरग्यालेक्टिकल स्पेस) आयन (IoN) को पुनर्संगठनीकरण हुनु आवश्यक थियो ।

यसका लागि असंख्य ताराहरुको निर्माण प्रक्रिया र अनन्त संख्यामा ‘अल्ट्राभायलेट’ फोटान एवं अत्यधिक लामो समयका साथै गुरुत्वाकर्षण आवश्यक रहेको थियो । यसका साथै आवश्यक थियो ‘कस्मिक वेभ’ बन्ने प्रक्रिया निर्मित हुनु । आयनहरुको पहिलो प्रमुख मंडल बन्न ‘बिग व्याङ्ग’ पश्चात २० करोडदेखि २५ करोड वर्ष समय लाग्यो ।

तर, आयनको पुनर्संगठनीकरण पूरा हुन भने अझ बढी समय लाग्यो, झण्डै ‘बिग व्याङ्ग’ पश्चात ५५ करोड वर्षसम्म यो प्रक्रिया चलिरह्यो । यो प्रक्रिया अझै पनि कहाँ रोकिएको छ र ? तारा निर्माण प्रक्रिया दर झनै बढेको छ । अत्यन्त सघन आकाशगंगाहरुको झुण्ड (Galaxy cluster) बन्ने पक्रिया त शुरु हुने चरणमा छ ।

५. स्टेलर युग : ‘डार्क एज’को अन्त्यसँगै ब्रह्माण्ड ताराहरुको प्रकाशबाट उज्यालो र पारदर्शी बन्यो । ब्रह्माण्डमा रहेको मध्यावकाश (रिक्त स्थान) तारा, ताराहरुको झुण्ड (Star cluster) आकाशगंगा, आकाशगंगाको झुण्डले सुगम, सलभ बन्यो । ब्रह्माण्ड ‘डार्क म्याटर’ र साधारण पदार्थले भरियो र गुरुत्वाकार्षणको अभिवृद्धिले ठूलाभन्दा ठूला खगोलीय संरचना बन्ने क्रम चली नै रह्यो ।

तारा निर्माण हुने प्रक्रिया सतह वृद्धि हुँदै गयो । बिग व्याङ्ग झण्डै ३ अर्ब वर्षपछि तारा बन्ने प्रक्रिया चरम बिन्दुमा पुग्यो । यस बेला नै नयाँ नयाँ आकाशगंगा बने, बनिसकेको आकाशगंगा झन झन ठूला हुँदै गए र एकआपसमा जोडिन पुगे । आकाशगंगाका झुण्डले बढीभन्दा बढी पदार्थ आफूतिर ताने ।

तर आकाशगंगामा रहेको स्वतन्त्र ग्यासहरुको मात्रामा ह्रास आयो । असंख्य ताराहरु बन्ने क्रममा यी ग्यासको प्रयोग भएकोले ग्यासको मात्रा घट्दै गयो । विस्तारै तर नियमितरुपमा तारा निर्माण हुने प्रक्रिया पनि घट्यो ।

जसरी जसरी समय अगाडि बढ्यो, नयाँ तारा निर्माणभन्दा ताराको मृत्युदर बढी हुन पुग्यो ।

यसबेला आएर एउटा अर्को रोचक विस्मयकारी तथ्य फेला पर्‍यो । ब्रह्माण्डको विस्तारसँगै पदार्थको घनत्व कम हुँदै जाँदा एउटा नयाँ ऊर्जा ‘डार्क इनर्जी’ देखापर्‍यो र यसले अन्य सबै इनर्जीलाई निष्प्रभावी वा कमतर बनाउँदै गयो ।

‘बिग व्याङ्ग’को ७.८ अर्ब वर्षपश्चात सुदूरका प्रकाशगांगाले एक आपसमा मिलेर मंडल बनाउने प्रक्रियालाई विराम दिएर पुनः गति धारण गरे । यस पश्चात बिग व्याङ्गको ९.२ अर्ब वर्षपछि ‘डार्क इनर्जी’ ब्रह्माण्डको सबैभन्दा बढी इनर्जी हुन पुग्यो । यसै समयमा ब्रह्माण्डले छैटौ तथा आफ्नो अन्तिम चरणमा प्रवेश गर्‍यो ।

६. डार्क इनर्जी युग : वैज्ञानिकहरुको अनुमानअनुसार ब्रह्माण्डमा ६८ प्रतिशत ‘डार्क इनर्जी’ र २७ प्रतिशत ‘डार्क म्याटर’को मात्रा छ । हामीले दृश्य ब्रह्माण्डभित्र जेजति थोक ग्रह, उपग्रह, तारा, आकाशगंगा लगायतका सबै सबै खागोलीय पिण्ड हेर्छौं अथवा हेर्दैनौं र ती दृश्य बह्माण्ड हुन् । सम्पूर्ण ब्रह्माण्डमा तीनको उपस्थिति ५ प्रतिशत मात्रै छ ।

‘स्टेलर’ युगको अन्त्यतिरै ब्रह्माण्डमा ‘डार्क इनर्जी’ को आधिपत्य भइसकेको थियो । र ब्रम्हाण्डमा जतिजति मात्रामा ‘डार्क इनर्जी’को वृद्धि हुँदै जान्छ, केही विचित्रको घटना घटित हुन्छ । ब्रह्माण्डमा ठूला संरचना बन्ने क्रम रोकिन्छ । गुरुत्वाकर्षण शक्तिले बाँधिएका कुनै दुई पिण्ड यथावत अवस्थामा रहन्छन् तर ‘डार्क इनर्जी’को बाहुल्यता भएपछि जुन पिण्ड एक आपसमा गुरुत्वाकर्षणले बाँधिएका छैनन्, ती कहिल्यै पनि बाँधिने छैनन् । उनीहरु निरन्तर एकअर्काबाट टाढा गइरहन्छन् । अन्ततः ब्रह्माण्डमा आफ्नो मात्र अस्तित्व राख्दै ती पिण्ड केही नभएको अनन्ताकाशमा अगाडि बढिरहन्छन् ।

आफैमा गुरुत्वाकर्षणले बाँधिएका ठूला संरचनाहरु जस्तै आकाशगंगा र यिनका समूह अथवा ठूलो झुण्ड (Galaxy cluster) एक आपसमा मिलेर झनै ठूलो दीर्घवृत्ताकार (Elliptical) आकाशगंगा निर्माण गर्छन् । अहिले रहेका तारा विस्तारै नष्ट हुँदै जान्छन् । नयाँ तारा बन्ने क्रम क्रमशः रोकिन्छ ।

गुरुत्वाकर्षणमा आएको परिवर्तनले अधिकांश ताराहरुलाई अन्तरआकाशगंगा क्षेत्रको (Intergalactic) रसातलमा धकेलिदिन्छ । पृथ्वीजस्ता ग्रहरु आफ्ना मातृतारा अथवा तारकीय अवशेषमा लीन हुन पुग्छन् र गुरुत्वाकर्षणीय विकिरणले विस्तारै समाप्त हुन्छन् । यहाँसम्म कि ‘ब्लाक होल’ जसको आयु अत्यधिक बढी रहेको मानिन्छ,  यी पनि आखिरमा हकिन्स विकिरणले समाप्त हुन्छन् ।

यो छैटौं तथा अन्तिम चरण वास्तवमा ७ अर्ब वर्ष पहिला नै प्रारम्भ भइसकेको थियो । ७ अर्ब वर्ष पहिला ब्रह्माण्डको विस्तारका लागि ‘डार्क इनर्जी’को प्रार्दुभाव हुनु अवश्यक बनेको थियो । वैज्ञानिकहरुका अनुसार हाम्रो यो पृथ्वी निर्माण हुनुभन्दा पहिला नै यसले ब्रह्माण्डका अन्य सबै पदार्थ र ऊर्जामाथि आफ्नो वर्चश्व कायम गरिसकेको थियो ।

ब्रह्माण्डको उत्पत्तिदेखि विभिन्न ६ चरण पार ग¥यो होला तर हामी वसेको पृथ्वीको अस्तित्व त ब्रह्माण्डको अन्तिम र निर्णायक चरणमा आएर मात्रै बन्यो । हामी जन्मिनुभन्दा अर्बौ वर्ष पहिला नै यो ब्रह्माण्ड आफ्नो उमेरको अन्तिम दोसाधमा आइपुगेको थियो ।

स्नेह र प्रेमपूर्वक आफ्नो चारैतिरको पृथ्वी, आकाश र सम्पूर्ण ब्रह्माण्डलाई अवलोकन गर्नुहोस् । यो आज जतिको सुरम्य  र मनोहारी भविष्यमा कहिल्यै पनि हुने छैन । अथवा भनौं आज जतिको सजिलै ब्रह्माण्ड अवलोकन गर्ने सुविधा र सुविस्ता फेरि कहिल्यै हुने छैन ।

प्रस्तुति : ज्ञानमित्र/हरि लामिछाने

स्रोत : https://www.forbes.com