/पर्यटकको पर्खाइमा इलामको स्वागत झरना

पर्यटकको पर्खाइमा इलामको स्वागत झरना

Reading Time: 1 minute

तस्बिर:- शरद जोशी

झापा – इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि इलामको रोङ गाउँपालिका –४ किटेनीको स्वागत झरना ओझेलमा परेको छ । प्रचारप्रसारको अभावका कारण मेची राजमार्ग छेउमै रहेको मनमोहक र आकर्षक स्वागत झरना ओझेलमा परेको हो । मेची राजमार्गमा सवारी साधन मार्फत दैनिक हजारौ आन्तरीक तथा बाह्य पर्यटक ओहोर दोहोर गरेपनी नजिकै रहेको स्वागत झरना सुनसान हुने गर्छ ।

पहाडको फेदीमा करिब एक सय मिटर भन्दा माथिबाट खस्ने ‘प्राकृतिक मात्र होइन, सौन्दर्यको हिसाबमा पनि झरना निकै आकर्षक र मनमोहक रहेको स्थानीयबासी मिलन राईले बताउनुभयो । पूर्वाधार विकास, प्रचारप्रसार र प्रर्वद्धन हुन नसक्दा ओझलमा परेको उहाँको भनाई छ ।

यसको संरक्षण र प्रचार प्रसार गर्न सके हजारौँ पर्यटक यहाँ आउँछन् ।’ विशेषगरी झापाको प्रचण्ड गर्मी छल्न जाने पर्यटकको पहिलो रोजाइ सो झरना हुने उहाँको टिप्पणी थियो । सप्तरङ्गी इन्द्रेणी झैँ देखिने यो झरनाको पानी सिमलको भुवा उडे जस्तै गरी माथिबाट बेगले तल झरेको देखिन्छ ।

इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । प्रदेश नम्बर १ को इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको प्राकृतिक सौन्दर्य, सूर्याेदयको दृश्य अवलोकन, वातावरण, कृषि उत्पादन, लोपोन्मुख तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङ्खला इलामका आकर्षण हुन् ।

यसका अतिरिक्त इलाममा झरनाको सौन्दर्यता पनि थपिएको छ । किटेनीमा झरना फेला परेसँगै इलाममा नयाँ पर्यटकीय गन्तव्य थपिएको हो । त्यहाँ पुग्ने जो कोही पनि झरनाको सुन्दरतामा लोभिने गरेका छन् ।

बिर्तामोडबाट सुगम मानिने रोङ गाउँपालिकामा रहेको सो झरना भएको स्थानमा पुग्न आधा घण्टाको समय लाग्छ । मेची राजमार्गबाट झापा र इलामको सिमानामा रहेको जोर कलशबाट दुई मिनेटको यात्रापछि किटेनी पुगिन्छ । किटेनीबाट १० मिनेट पैदल यात्रापछि झरना भएको स्थानमा पुगिन्छ

बाटोमा सामान्य पाटी पौवा र नास्ता खानका लागि होटलको सुविधा रहेको छ । पर्यटकहरू आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको छ । ढुङ्गा खसेर दुर्घटना नहोस् भनेर गाँउपालिकाले पानी छान्ने जाली राख्न लागेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले बताए । उनले पर्यटकलाई सहजताको लागि सिँढीको व्यवस्था गर्ने, सेल्फी जोन निर्माण गर्ने, गोलघरसम्म यातायात र त्यहाँदेखि पैदलमार्ग बनाउने लगायतका काम यस वर्ष गर्ने योजना रहेको बताए ।