/‘भ्रमण वर्ष २०२०’ मा कर्णाली घुम्ने की !

‘भ्रमण वर्ष २०२०’ मा कर्णाली घुम्ने की !

Reading Time: 1 minute

सुर्खेत । सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले जनवरी १ का दिन सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ गर्दैछ । बुलबुले सुर्खेतको प्रमुख गन्तव्य हो । यहाँबाटै पर्यटकलाई स्वागत गरेर भ्रमण वर्षमा जतिसक्दो बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनामा छ, प्रदेश सरकार ।
प्रदेश सरकारले विसं २०७५ लाई ‘रारा–कर्णाली पर्यटन वर्ष’ मनायो । वर्षैभरि सञ्चालित पर्यटकीय गतिविधिमा रारा केन्द्रमा रह्यो । यसले गर्दा रारासँगै जोडिएका अन्य गन्तव्यहरु पनि पर्यटकको रोजाइमा परे । पर्यटकीय चहलपहल वर्षैभरि रह्यो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले रारा कर्णाली पर्यटन वर्षका उपलब्धि र सिकाइलाई आधार बनाएर भ्रमण वर्ष २०२० मा अत्यधिक स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने तयारीमा जुटेको बताउनुहुन्छ । “रारा कर्णाली पर्यटन वर्षले पर्यटन क्षेत्रको प्रर्वद्धन र विकासका लागि ठूलो बहस सिर्जना गरेको छ, वडास्तरसम्मका पर्यटकीय गन्तव्यको पहिचान र तिनको पूर्वाधार विकास एवं प्रवद्र्धनका विषयले प्राथमिकता पायो, यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ,” उहाँले भन्नुभयो ।

यसपालि अङ्गे्रजी वर्ष २०२० मा प्रदेश सरकारको पर्यटन प्रर्वद्धन समिति भ्रमण वर्षमा पर्यटकलाई कर्णालीमै आर्कषण गराउन आफ्नै नारा र लोगो बनाएर प्रचारप्रसारमा जोड दिने योजनामा छ । ‘यसपालि घुमौं कर्णाली’ (इट्स टाइम फर कर्णाली) नारासहित प्रदेश सरकारले प्रवद्र्धन र पूर्वाधार विकासका काम सँग–सँगै सञ्चालन गरेर पर्यटकमैत्री कर्णालीको अवधारणा साकार पार्दैछ । यसको व्यवस्थित कार्यान्वयनका लागि प्रदेश सरकारले जनवरी १ मै ९ महिना लगाएर तयार पारेको ‘पर्यटन गुरुयोजना’ सार्वजनिक गर्दैछ । भ्रमण वर्षमा पर्यटकलाई अत्यधिक सुविधा र सुरक्षा दिलाउन सरकार प्रतिवद्ध रहेको मन्त्री बुढाको भनाइ छ ।

राराका होटल व्यवसायी एवं प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समितिका सह–संयोजक राजु कार्कीले प्राकृतिक सुन्दरताको अवलोकन, तीर्थयात्राका लागि मात्र नभई सांस्कृतिक विविधताको अध्ययनका लागि कर्णाली उपर्युक्त गन्तव्य भएको बताउनुभयो । “कर्णाली सबै हिसाबले सुन्दर छ, नेपालमा अन्त कतै नभएका विशेषता यहाँ भेटन् सकिन्छ,” उहाँले भन्नुभयो, “प्रचारप्रसारसँगै पूर्वाधारको विकास गरेमा पर्यटकको पहिलो रोजाइ कर्णाली बन्न सक्छ ।” हुम्ला–डोल्पामा पदयात्रा, भेरी र कर्णालीमा जलयात्राको आनन्द लिन सकिने उहाँ बताउनुहुन्छ ।

कर्णाली प्रदेशमा पर्यटकको ध्यान खिच्ने थुप्रै आकर्षणहरु छन् । नौलो विषयवस्तुको अध्ययन÷अवलोकनमा आममानिसको रुची हुन्छ । कर्णालीमा यस्तै नौलो दृश्य देख्न पाइन्छ । मुगुमा नेपालकै ठूलो राराताल छ, जहाँ पाइने स्नोट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन । मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङले आगुन्तकलाई मोहित पार्दछ । सुर्खेतदेखि करीब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ । राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिनुभएको थियो । रारामा घोडसवार र डुङ्गा शयरको आनन्द लिन सकिन्छ । मुर्माटपलाई राराको भ्युटावर भनिन्छ । त्यहाँबाट राराको पूरै स्वरुप क्यामरामा कैद गर्न सकिन्छ ।
मुगु र हुम्लाको सिमानामा चंखेली हिमाल छ । यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ । हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । वर्षेनी सयौंको सङ्ख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो ।
डोल्पामा सबैभन्दा गहिरो शे फोक्सेन्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे फोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे फोक्सेन्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

जुम्लाको सिंजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो । विश्वभर छरिएर रहेका खस नेपाली भाषीहरुलाई प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा कम्तीमा एकपटक सिंजा पुग्न आमन्त्रण गर्दैछ । जुम्ला सदरमुकाम खलंगाबजारबाट तीन घण्टाको बसयात्रापछि सिंजा क्षेत्र पुगिन्छ । सिंजा क्षेत्र हुँदै रारा पुग्न सकिन्छ । जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन् । यहाँको तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् । सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । कालीकोटको पचाल झरनाका साथै पिली क्षेत्र युद्ध पर्यटनले चर्चामा छ । कर्णाली राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्तीहरु पर्यटकका लागि थप आकर्षण हुन् ।

दैलेखको दुल्लूमा नेपाली भाषाको पहिलो अभिलेख छ । शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ । पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीय आउँछन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे नरहेको अनुसन्धान गर्दैछ । दुल्लू क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुँरासे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् । दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेख आउनै पर्दछ । त्यस्तै, विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ कर्णाली क्षेत्र । आफ्नो पुख्र्यौली थलो हेर्न दुलाल, नेपाल, खनाल, दाहाल, लम्साल, कोइराला, पराजुली, रुपाखेती, बस्याल लगायत थरका मानिसहरु दैलेखका गाउँबस्ती पुग्ने गर्दछन् ।

प्रदेश राजधानी सुर्खेतको बुलबुले ताल, कांक्रेविहार, देउतीबज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् । कांक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थानहरु घुम्न योग्य छन् । कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ हो । कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ । सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ खनेर एउटा नदीको पानी अर्कोमा पानी खसाल्ने बहुउद्देश्यीय आयोजना यहाँ निर्माण हुन लागेको छ । त्यसैले, भेरी–बबई हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि दिनहुँ आउने गर्दछन् । कर्णालीमा सञ्चालित अन्य ठूला पूर्वाधारका आयोजनाले पनि विकास पर्यटनको सम्भावना बढाइदिएका छन् ।

रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, जाजरकोटको दरबार क्षेत्र तथा सल्यानमा कुभिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीय स्थल हुन् । कर्णाली मुलुककै सबैभन्दा लामो नदी र यसको उत्पति स्थल मानसरोवर भएर प्रदेश प्रवेश गरेको छ । खसहरुका कुलदेवता मष्टोको उत्पत्ति पनि यही मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै विश्वभर फैलिएको पुराना ग्रन्थ एवं विभिन्न खोज अनुसन्धानमा उल्लेख गरिएको पाइन्छ । प्राकृतिक सुन्दरता मात्र होइन, हिमाली जनजीवन, कलासंस्कृति, वेशभूषाले आगन्तुकको मन लोभ्याउँछ । कर्णालीकै अल्पसङ्ख्यक थारु, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । त्यसका लागि थारु समुदायबाट होमस्टे सञ्चालन भइआएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भेरी र कर्णाली करिडोर निर्माण गर्न सकिए कर्णालीको पर्यटन पूर्वाधार र पर्यटक आवागमनमा ठूलो मद्दत पुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “भेरी करिडोरले पूर्वी सुर्खेत हुँदै सल्यान, जाजरकोट र डोल्पाका पर्यटकीय स्थललाई पर्यटकसँग जोड्नेछ भने यता कर्णाली करिडोरले सुर्खेत, दैलेख, कालीकोट र हुम्लालाई जोड्नेछ ।” कर्णाली पर्यटकका लागि एकपटक होइन बारम्बार आउनुपर्ने क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको धारणा छ । रासस