/हर्टअट्याकको जोखिम जाडोमा किन बढी हुन्छ?

हर्टअट्याकको जोखिम जाडोमा किन बढी हुन्छ?

Reading Time: 1 minute

डा अनिल भट्टराई

स्वीजरल्याण्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जुलाई–अगष्टमा भन्दा डिसेम्बर–फेब्रुअरीमा हृदयाघात (हर्टअट्याक)का बिरामी बढी देखिएका छन्। एक लाख मानिसमा जुलाई–अगष्ट र डिसेम्बरदेखि फेब्रुअरीसम्मगरी दुई फरक–फरक मौसममा अध्ययन गरिएको थियो। त्यसक्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको  साइज मापन गरिएको थियो। जसमा एकहजार मानिसमा जाडो मौसममा हृदयाघातको जोखिम बढी भएको पाइएको थियो।

यसैगरी मुसामा गरिएको अर्को अनुसन्धानले जाडोमा रक्तनलीको लेयर बढ्ने र मुटुको नशा पनि मोटो हुने भएकाले रगतको आपूर्ति कम हुँदा हृदयाघात हुनसक्ने देखाएको थियो।

जाडो मौसममा रगतमा कोलेस्टेरोललगायतका रिस्क फ्याक्टरको मात्रा बढ्ने कुरा प्रमाणित नै भएको छ। त्यसैले जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ। त्यसैले जाडोमा मोटोपन घटाउने, सुगर नियन्त्रण गर्ने तथा कोलेस्टेरोल नियन्त्रण गर्नुपर्छ। चुरोटमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन। यसले सानो आकारको मुटुको नशालाई बढी असर गर्छ। त्यसैले चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी हुन्छ।

हिउँ, चिसो हावा र कम तापक्रमले मुटु रोगीलाई बढी असर गर्छ। त्यसैले कम तपाक्रम हुने देशमा चिसोका बेला हृदयाघात भइसकेका वा जोखिममा  रहेका मानिसलाई बाहिर नजाने सल्लाह दिइन्छ। धेरै चिसो तापक्रम हुने नर्वे, फिनल्याण्ड, रुसजस्ता मुलुकमा त ७० वर्ष उमेर काटेका मानिसलाई घरबाहिर ननिस्कन नै भनिन्छ। जाडो मौसममा मुटु रोगीमा हृदयाघात हुनुको अर्को कारण घाम लाग्ने र भिटामिन डीको कमी हुनु पनि हो। भिटामिन डीले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ।

विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ। बिहान उठ्ने बेलातिर र उठ्नेबित्तिकै हृदयाघात भएको पाइएको छ। चिसो हावा चलेको बेलामा झन् बढी हुन्छ। चिसो मौसममा फोक्सोसंबन्धी (सिओपिडी) का बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ।

मुटुको कुनै भागमा आकस्मिक रुपमा रक्तप्रवाह नहुँदा मुटुको मांशपेसीको मृत्यु हुन्छ, जसलाई हृदयाघात भनिन्छ। मुटुको मांशपेसीका तीन तह हुन्छन्– एपि कार्डियम (मुटुको बाहिरी भाग) मायो कार्डियम (बीचको भाग) र एन्डो कार्डियम (भित्री भाग)। यी तीन भागमध्ये कुनै पनि भागमा रगत सञ्चार नभएको खण्डमा  हृदयाघात हुन्छ।  तीनै भागमा रगत नपुग्ने भएमा सबैभन्दा खतरनाक हृदयाघात हुन्छ।

यदि घरमा मुटुका रोगी छन् भने परिवारका सदस्यलाई बिरामी तथा रोगका बारेमा थाहा हुनु जरुरी छ। मुटु रोगी वा मधुमेहका बिरामीलाई बायातर्फको छाती दुख्ने समस्या सुरु भएमा तुरुन्त अस्पताल लैजानुपर्छ। अर्को कुरा हृदयाघातको जोखिममा रहेको मानिस वा उनका परिवारले इमर्जेन्सी औषधिका बारेमा पनि हल्का जानकारी राख्न जरुरी छ। जसले  गर्दा अस्पतालसम्म लैजाने समय पाउँन सकिन्छ। हृदयाघात भएमा कार्डियाक मसाज दिने गरिन्छ। हृदयाघात हुँदा मुटु जथाभावी धड्किएको हुन्छ, जसलाई फिब्रिलेसन भनिन्छ।  त्यसलाई ठीक ठाउँमा ल्याउँन छातीको देब्रेतर्फ एकमुक्का हानेर कार्डियाक मसाज गर्दा मुटुको चाल ठीक ठाउँमा आउँन सक्ने सम्भावना हुन सक्छ। तर त्यसका बारेमा सही ज्ञान हुनु जरुरी छ।

हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ। छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा जोखिममा रहेका मानिस अस्पताल पुग्नुपर्छ। छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ।